Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

  • 82
    SHARES
  • मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण
    मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

    काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।

    आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिबाट प्राप्त अंगलाई तीन जनामा सफल प्रत्यारोपण भएको जानकारी दिएका हुन् ।  
     
    उनले भने, “गत मंगलबार सवारी दुर्घटनाबाट परी मस्तिष्क मृत्यु भएकी १७ वर्षीय युवतीबाट केन्द्र र भारतीय चिकित्सकको टोलीले तीन जनामा मृगौला र कलेजोको सफल प्रत्यारोपण गर्न सफल भएको छ ।”

    दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकी ती युवतीबाट रुपन्देही मायादेवी गाउँपालिका–४ पविका ४७ वर्षीय पुरुष र सिराहा जिल्लाको सिराहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । साथै ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषलाई कलेजो प्रत्यारोपण गरिएको थियो ।

    केन्द्रले २०७४ वैशाख २८ गतेदेखि पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अंगबाट प्रत्यारोपण सुरु गरेको थियो । हालसम्म केन्द्रमा पाँच जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको डा. श्रेष्ठले जानकारी दिए ।

    डा. श्रेष्ठका अनुसार हरेक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गर्छ तर अत्यन्त न्यून संख्यामा अंग दान हुने गरेको छ । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐनको पहिलो संशोधन २०७२ अनुसार अस्पतालले समन्वय इकाइमार्फत केन्द्रलाई जानकारी दिनुपर्ने प्रावधान भए पनि अस्पतालले जानकारी दिन हिचकिचाहट गर्ने गरेको डा. श्रेष्ठले बताए ।

    “विश्वमा ८० प्रतिशत प्रत्यारोपण दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकाबाट प्राप्त हुने गर्छ । तर नेपालमा अस्पतालले केन्द्रलाई जानकारी दिन हिचकिचाउने र सर्वसाधरणमा यससम्बन्धी चेतनाको अभावका कारण दान गर्नेको संख्या न्यून रहेको छ”, उनले भने ।

    मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जनचेतनाको अभावका कारण अंग प्रत्यारोपणका लागि अंग दान गर्नेको संख्या बढ्न नसकेको बताए । उनले भने, “मस्तिष्क मृत्युपश्चात् अंगदान गर्नसके अन्य रोग लागेका धेरै बिरामीको ज्यान बचाउन सकिन्छ । तर जनचेतना अभावका कारण अंगदान गर्नेको संख्या बढ्न नसक्नु दुःखद कुरा हो । ” 

    कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे, डा. ललितकुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकको सहभागिता थियो । मिर्गौला प्रत्यारोपण कार्यमा प्रा.डा राकेशकुमार वर्मा, प्रा.डा पवन चालिसे, डा.दिपेश श्रेष्ठ, डा.रविकिरण गौतम, डा.हरि बराल र डा.रोजन अधिकारीलगायत सर्जरीमा कार्यरत चिकित्सकको सहभागिता थियो । एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा र डा.रश्मित श्रेष्ठको सहभागिता थियो ।

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend