Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

राष्ट्रपति पुटिनविरुद्ध जारी भएको पक्राउ पुर्जीको रुसद्वारा निन्दा

राष्ट्रपति पुटिनविरुद्ध जारी भएको पक्राउ पुर्जीको रुसद्वारा निन्दा

  • 56
    SHARES
  • राष्ट्रपति पुटिनविरुद्ध जारी भएको पक्राउ पुर्जीको रुसद्वारा निन्दा
    राष्ट्रपति पुटिनविरुद्ध जारी भएको पक्राउ पुर्जीको रुसद्वारा निन्दा

    हेग । यहाँस्थित अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पुटिनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।

    आइसिसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी  जारी गरेको बताएको छ । आइसिसी सदस्य देशका सरकारको सहयोग बिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुटिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ ।

    मस्कोले आइसिसीका आदेशलाई अर्थहीन भन्दै खारेज गरेको छ । साथै मस्कोले आरोप अस्वीकार गर्दै पक्राउ पुर्जी जारी हुनुलाई अपमानजनक भनेर त्यसको निन्दा गरेको छ । रुसी नेता पुटिन आइसिसीले पक्राउ पुर्जी जारी गरेका तेस्रो बहालवाला राष्ट्रपति हुन् ।

    रुस आइसिसीको पक्ष राष्ट्र नभएकाले राष्ट्रपति पुटिन पक्राउ पर्ने सम्भावना छैन । अर्थात् द हेगमा रहेको उक्त अदालतको आदेश त्यहाँ कार्यान्वयन हुने कुनै आधार पनि छैन । यद्यपि त्यसले राष्ट्रपति पुटिनको अन्तरराष्ट्रिय यात्रामा असर पर्नसक्छ ।

    अन्तरराष्ट्रिय फौजदारी अदालतको सदस्यता लिएर विश्वका एक सय २३ सदस्य राष्ट्रहमध्ये कुनैमा पुटिले पाइला राखेमा उनलाई पक्राउ गर्न सकिनेछ । आइसिसीका अध्यक्ष पिओटर होफमान्स्कीले पक्राउ आदेश कार्यान्वयन अन्तरराष्ट्रिय सहयोगमा निर्भर हुने बताएका छन् ।

    युद्धग्रस्त युक्रेनले राष्ट्रपति पुटिनविरुद्ध आइसिसीले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले  अदालतको कदमलार्य ऐतिहासिक निर्णय भन्दै स्वागत गरेका छन् ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी साता हुने मस्को भ्रमण तथा रुसलाई चीनले सैन्य सहायता गर्ने समाचार सार्वजनिक भइरहेका बेला जारी भएको आइसिसीको आदेशले अन्तरराष्ट्रिय जगत्मा तरंग पैदा गरेको छ ।

    यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्ना रुसी समकक्षी पुटिनविरुद्ध अन्तरराष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेका गरेका छन् । राष्ट्रपति पुटिनले युक्रेनमा युद्ध अपराध गरेको ठहर गर्दै पक्राउ पुर्जी जारी गर्नुलाई अमेरिकी राष्ट्रपति ‘न्यायसंगत’ भनेका छन् । अमेरिका पनि आइसिसीको पक्ष राष्ट्र होइन । राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट आफ्नो डेलावरस्थित निजी निवासतर्फ प्रस्थान गर्नुअघि उनले रुसी राष्ट्रपति पुटिनले ‘स्पष्ट रूपमा युद्ध अपराध गरेको’ पत्रकारहरूलाई बताए ।

    गत महिना जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनमा रुसले मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँदै उसलाई  दण्ड दिनुपर्ने बताएका थिए । रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमणको आलोचना गर्दै ह्यारिसले हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरेका थिए ।

    त्यसअघि पनि बाइडेन प्रशासनले युक्रेनमा मस्कोले युद्ध अपराध गरेका प्रमाण आफूसंग रहेको जनाउँदै मस्कोविरुद्ध अन्तरराष्ट्रिय समुदायले आवाज उठाउनुपर्नेमा जोड दिँदै आएको थियो । 

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend