वीरगञ्ज । श्रीमती सुनैनाकुमारी यादवको हत्या गर्ने मुख्य अभियुक्तलाई पक्राउ गर्नुपर्ने माग गर्दै रौतहटको मौलापुर नगरपालिका- ९ सोनरनिया स्थानीयले जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडी प्रदर्शन गरेका छन् ।
छिमेकी कलावती देवी यादव, उनको श्रीमान भोला राय यादव, मधानी देवी र उनको श्रीमान उमत राय यादव मिलेर गत माघ २५ गते बाँसको भाटाले निर्घात कुटपीट गरेर हत्या गरेको स्थानीयले दावी गरेका छन् । रौतहट प्रहरीको फितलो कार्यशैलीको कारण कारबाही प्रक्रिया अघि नबढाइ छोडिदिएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।
कुटपिटबाट अचेत अवस्थाकी सुनैनालाई उद्दार गरेर अस्पतालमा पुर्याउँदा डाक्टरले मरिसकेको बताएको स्थानीय महिला शारदा देवी यादव बताउँछिन् । प्रहरीले आरोपीमध्ये मधानी देवीको ७२ बर्षीय श्रीमान उमत राय यादवलाई मुख्य आरोपी बनाएको छ । प्रहरीले दोषीलाई उम्काउन खोजेकोले प्रदर्शन गर्न बाध्य भएको रामप्रसाद साहले बताएका छन् ।
तर, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले स्थानीयले कुरा नबुझेर प्रहरीको विरोध गरेको बताए । सुनैनाको ४ जना छोरी र दुई छोरा समेत प्रदर्शनमा सहभागी भएका थिए ।